You are currently viewing प्रदीप यादव मन्त्री बन्दा वीरगञ्जमा छायो खुसियाली, चाँदीको मुकुट लगाएर सम्मान, ठाउँठाउँमा भव्य स्वागत

प्रदीप यादव मन्त्री बन्दा वीरगञ्जमा छायो खुसियाली, चाँदीको मुकुट लगाएर सम्मान, ठाउँठाउँमा भव्य स्वागत

वीरगञ्ज, २७ अषाढ । संघ सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई गृहनगर वीरगञ्जमा सोमबार विभिन्न स्थानमा भव्यताका साथ स्वागत गरिएको छ ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गत शनिबार गृहनगर वीरगञ्ज आइ पुगेका वन मन्त्री यादवलाई त्यही दिन पनि भव्य स्वागत गरिएको थियो ।

सोमबार पनि नवनियुक्त मन्त्री यादवलाई विभिन्न ठाउँका स्थानीयले भव्यताका साथ स्वागत गरेका हुन् । मन्त्री यादवलाई वीरगञ्ज महानगरपालीका वडा नम्बर ३, ४, ५, ७, ८, १८ र २२ मा स्थानीय र निर्वाचित जनप्रतिनिधिले स्वागत र सम्मान गरेका थिए ।

त्यसैगरी उनलाई वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह लगायत त्यहाँ कार्यरत कर्मचारी र उपस्थित स्थानीयले फुलमाला, दोशाला ओढाएर सम्मानित गरेका थिए ।

मन्त्री यादवलाई उनको गृहवडा मनियारमा पनि स्थानीयले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बोल्दै मन्त्री यादवले स्थानीयहरुको स्वागत र सत्कारले आफू प्रफुल्लित भएको बताका थिए । उनले वीरगञ्जको छोरा मन्त्री नियुक्त हुँदा स्थानीयहरुले दिएको सम्मानको कदर गर्दै जिल्लामै विकासको लहर ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

त्यसतै यादवलाई स्थानीय सञ्चार संस्था मधेसखबर र रातोपाना अनलाइनले पनि आफ्नो कार्यालयमा बोलाएर सम्मानित गरेको थियो भने वीरगञ्ज कलाकार समाजले पनि महानगरपालिकाको कार्यालयमा पुगेर उनलाई सम्मानित गरेको उनका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए । वीरगञ्ज कलाकार समाजले यादवलाई भोजपुरी संस्कृति झल्काउने गम्छा र घण्टाघरको चित्रकला पनि प्रदान गरेको बरनवालले बताए ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ मा वडा अध्यक्ष उमाशंकर तिवारीले मन्त्री यादवलाइ चाँदीको मुकुट लगाएर सम्मानीत गरेका थिए । मन्त्री यादवसँगै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पनि स्थानीयहरुले सम्मानित गरेका थिए ।

त्यसैगरी उनले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा विभिन्न स्थान पुगेर शुभकामना साटासाट पनि गरेका थिए ।

Leave a Reply